
गुल्मी, ११ कात्तिकः बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ ।
दसैँ मनाउन स्थायी घर गएका नागरिकले त्यही मौकामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायत सेवा लिन जिल्ला प्रशासन कार्यालय पुगेका कारण त्यहाँ सेवाग्राहीको भीड लागेको हो ।
सेवाग्राहीको चाप बढेपछि उक्त कार्यालयले जिल्ला निर्वाचन कार्यालयबाट थप कर्मचारी झिकाएर सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मङ्गलबार मात्रै १७० जनाले नागरिकता, २१० जनाले राष्ट्रिय परिचयपत्र, ९२ जनाले राहदानी तथा १७ जनाले नाबालक परिचयपत्र बनाएका छन् ।
सेवाग्राहीको भीड अझै बढेमा जिल्ला समन्वय समितिबाट समेत थप कर्मचारी बोलाएर सेवा प्रवाह गरिने उहाँले बताउनुभयो ।
दसैँको बिदामा घर गएका अधिकांश व्यक्ति चाडपर्वपछि आफ्नो कर्मथलो फर्कने क्रममा सदरमुकाम आई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य सिफारिस र कागजात बनाउने सेवाग्राहीको सङ्ख्या बढेको प्रशासकीय अधिकृत नारायण घर्तीले बताउनुभयो ।
सेवाग्राहीको चाप बढेपछि कार्यालयले सेवाप्रवाहलाई व्यवस्थित बनाउन कर्मचारीलाई कार्यालय समयपछि समेत खटाउँदै आएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।
सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमै बसेर प्रशासकीय अधिकृतले सेवा प्रवाह तथा सहजीकरण गर्दै आउनुभएको छ । कार्यालयले कतिपय फाँटमा सेवाग्राहीले एकअर्काको पालो नमिचुन् भन्ने उद्देश्यले टोकन प्रणालीसमेत लागू गरेको छ ।
जिल्ला सदरमुकाममा यस बेला सेवाग्राहीको भीडभाड हुने भएका कारणले कतिपय सेवाग्राही अघिल्लो दिन नै सदरमुकाम तम्घास आएर बास बस्ने र भोलिपल्ट बिहानै कार्यालयमा लाइनमा बस्ने गरेका पाइएको छ ।
जिल्ला प्रशासनमा जनजाति प्रमाणित, पेन्सन, संस्था नवीकरण तथा अभिलेख प्रमाणितलगायत सेवा लिन आउने सेवाग्राहीको चाप बढेको प्रशासकीय अधिकृत कमल सेन ओलीले जानकारी दिनुभयो ।
जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा अहिले जिल्ला प्रशासनमा सेवाग्राहीको चाप बढी छ । केही दिनपछि अहिलेको सेवाग्राहीको चाप क्रमशः घट्दै जाने कार्यालयले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |