
काठमाडौँ, ५ कात्तिकः बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् ।
दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट एक हजार ४०६ जना नागरिक लाभान्वित भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा तीन वटा बस निःशुल्क सञ्चालन गरिएका थिए । महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले उक्त सेवा लिएका थिए ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट बुधबारसम्म दुई हजार १७९ जना सर्वसाधारण लाभान्वित भएका छन् । सशस्त्र प्रहरीले गत सोमबारदेखि दुई वटा बसमार्फत सञ्चालन गरेको सेवा भोलि शुक्रबारसम्म जारी रहने जनाएको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सोमबार ४५० जना, मङ्गलबार ६१६ जना र बुधबार अर्थात् विजयादशमीका दिन एक हजार ११३ जना नागरिकले निःशुल्क बस सेवा लिएका थिए ।
सहायक प्रवक्ता थापाले सोमबारदेखि सुरु भएको निःशुल्क बस सेवा शुक्रबारसम्म सञ्चालन हुने जानकारी दिँदै आज पनि सेवा जारी रहेको बताउनुभयो ।
दसैँका समयमा टीका थाप्न जाने यात्रुलाई बिनाशुल्क सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने उद्देश्यले केही वर्षदेखि सञ्चालन हुँदै आएको दुई प्रहरी सङ्गठनको निःशुल्क बस सेवाबाट नागरिक लाभान्वित भएको र सार्वजनिक यातायातका सवारीसाधनले मनपरी भाडा असुल्नेक्रम रोकिएको आमसर्वसाधारणको भनाइ छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |