
रूपन्देही, २ कात्तिकः बुद्धदर्शनमा आधारित विपश्यना ध्यानलाई आत्मनिरीक्षण, चित्तशुद्धि र प्रज्ञा विकासको अभ्यासका रुपमा लिइन्छ । आफ्नै मन, विचार र संवेदनालाई यथार्थ रूपमा बुझ्न सिकाउँदै राग, द्वेष र मोहबाट मुक्त हुने मार्गमा उत्प्रेरित गर्न यसले सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ ।
यसै सन्दर्भमा, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वक्याम्पस प्रमुख फणीन्द्रप्रसाद न्यौपाने विपश्यना ध्यान मानव जीवनलाई शान्त, संयमित र सदाचारी बनाउन महत्वपूर्ण रहेको बताउनुहुन्छ । उहाँका अनुसार विपश्यना केवल ध्यानमा बस्ने विधि नभई आफूभित्र उत्पन्न हुने विकार र नकारात्मक भावनालाई पहिचान गरी तिनको प्रकृति बुझ्ने अभ्यास हो । यसले व्यक्तिमा धैर्य, समभाव र सकारात्मक सोच विकास गर्र्न सघाउन पुर्याउँछ ।
उहाँले भन्ुनुभयो, “बुद्धले प्रतिपादन गर्नुभएको विपश्यना ध्यानको मूल मर्म आफूभित्रको यथार्थलाई प्रत्यक्ष अनुभव गर्नु हो । यस अभ्यासमा श्वासप्रश्वास र शरीरमा उत्पन्न हुने संवेदनालाई सजगतापूर्वक अवलोकन गरिन्छ । सुखद अनुभूतिप्रति आशक्ति र दुःखद अनुभूतिप्रति द्वेष नराखी समभाव कायम गर्न सिक्नु यसको महत्वपूर्ण पक्ष हो । अनित्य, दुःख र अनात्मको बोधसँग सम्बन्धित बुद्धशिक्षाले मानिसलाई जीवनका अनुभवप्रति यथार्थपरक दृष्टिकोण विकास गर्न प्रेरित गर्छ ।”
विपश्यना प्रशिक्षक गङ्गा कोइराला ध्यानको अभ्यासले मानिसलाई आफ्ना विचार, भावना र व्यवहारप्रति सचेत बनाउँदै दैनिक जीवनमा संयमित हुन सहयोग गर्ने बताउनुहुन्छ । उहाँका अनुसार विपश्यना केवल मानसिक शान्ति प्राप्त गर्ने माध्यम मात्र नभई आफूले बोल्ने शब्द, गर्ने व्यवहार र अरूप्रति देखाउने प्रतिक्रियालाई समेत नियाल्ने अभ्यास हो ।
यसैगरी, बुद्धशिक्षाका ज्ञाता तथा विपश्यना गुरु मेघनाथ ज्ञवाली विपश्यनालाई मानव जीवनमा आनन्द, खुसी र आन्तरिक शान्ति प्राप्त गर्ने मार्गका रूपमा व्याख्या गर्नुहुन्छ । बाह्य परिस्थितिबाट प्राप्त हुने सुख क्षणिक हुन सक्छ, तर आफ्नो मनको प्रकृति बुझेर समभाव विकास गर्ने अभ्यासले जीवनका सुखदुःखलाई सन्तुलित रूपमा सामना गर्न विपश्यनाले प्रेरित गर्ने उहाँको भनाइ छ ।
विज्ञ ज्ञवालीले भन्नुभयो, “बुद्धले दिनुभएको पञ्चशील—प्राणीहत्या नगर्ने, चोरी नगर्ने, कामसम्बन्धी दुराचार नगर्ने, झूटो नबोल्ने र मादक पदार्थ सेवन नगर्ने—विपश्यना साधनाको नैतिक आधार हो । शील, समाधि र प्रज्ञालाई बौद्ध साधनाका परस्पर सम्बन्धित पक्षका रूपमा लिइन्छ । शीलले आचरणलाई शुद्ध बनाउँछ, समाधिले चित्तलाई एकाग्र गर्छ र प्रज्ञाले यथार्थ बुझ्ने क्षमता विकास गर्न सहयोग पुर्याउँछ, त्यसैले पनि मानव जीवनमा यो महत्वपूर्ण छ, सबैले यसको साधना गर्नुपर्छ ।”
आचार्य सत्यनारायण गोयन्काले विपश्यना ध्यानलाई विश्वका विभिन्न देशमा विस्तार गर्न महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँबाट विकसित शिक्षण परम्पराअनुसार सञ्चालन हुने १० दिने आवासीय शिविरमा सहभागीले मौन साधना,नियति ध्यान र आत्मपरीक्षणको अभ्यास गर्छन् ।
व्यस्त जीवनशैली, तनाव र आवेगपूर्ण व्यवहारका बीच विपश्यना आत्मचिन्तन र आत्मअनुशासनको अभ्यास बन्न सक्छ । वर्षमा एकपटक १० दिने शिविरमा सहभागी भएर ध्यानको अभ्यास गर्न सके आफ्नो मन र व्यवहारलाई गहिराइबाट बुझ्न सकिने न्यौपानको धारणा छ ।
विपश्यनाको उद्देश्य व्यक्तिगत शान्तिमा मात्र सीमित नभई आफूमा विकसित हुने करुणा, मैत्री, अहिंसा र सद्भावलाई व्यवहारमा उतार्नु पनि हो । व्यक्तिको चित्तमा शान्ति र समभाव विकास हुँदै जाँदा परिवार तथा समाजमा समेत सहिष्णुता र मानवीय सम्बन्ध सुदृढ बनाउन योगदान पुग्ने बौद्ध दर्शनका जानकारहरूको भनाइ छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |