
काठमाडौँ, २६ असोजः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि सुरक्षित र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।
महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तकको आज यहाँ आयोजित विमोचन कार्यक्रममा सम्बोधन गर्दै उहाँले हिमाली क्षेत्रमा दोहोरिरहेका विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जलवायु परिवर्तनका चुनौती सामना गर्न तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, निजी क्षेत्र र आमनागरिकबीच सहकार्य तथा समन्वय आवश्यक रहेको बताउनुभयो ।
तापक्रममा भइरहेको असन्तुलित वृद्धिका कारण विश्वले गम्भीर चुनौती सामना गरिरहेको उहाँले उल्लेख गर्नुभयो । “नेपाल हिन्दुकुश क्षेत्रमा पर्ने हुँदा हामी झन् गम्भीर सङ्कटमा छौँ । हिमाली क्षेत्रमा दोहोरिरहेका यस्ता विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले विपद् आएपछि उद्धार र राहतमा मात्रै केन्द्रित नभई भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो । उहाँले वातावरण संरक्षणसँगै सुरक्षित तथा पर्यावरणमैत्री पूर्वाधार निर्माणलाई विकासका योजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तनबाट सिर्जित जोखिम कम गर्न पूर्वाधार निर्माण गर्दा वातावरणीय पक्षलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले दिगो विकासका लागि सरकार र सरोकार भएका सबैपक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री अमृतकुमार बोहरा, नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भरतप्रसाद पराजुली, पूर्वमन्त्री युवराज ज्ञवाली, केशव बडाल र आनन्दप्रसाद पोखरेललगायतले लेखक शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ नामक पुस्तक समसामयिक र पठनीय रहेको बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |