Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ दिन अघि)
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी, २३ असोजः कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ ।

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक यही असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको थियो ।

विभिन्न ५० ठाउँमा पहिरो खसेको, भासिएको र १० ठाउँमा कालीगण्डकी नदीको कटानले बगाएको सडक मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग तयार भएर बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गरेका छन् । कालीगण्डकीको बाढीले बगाएको कुनौटाको सडक र पोखरेबगर पुलको पहुँचमार्ग निर्माणमा चुनौती देखिएको थियो ।

इन्धन, एम्बुलेन्स, सडक, विद्युत् र सञ्चार सेवा सञ्चालन गराउन आवश्यक उपकरण र राहत सामग्री ढुवानी गर्ने सवारीसाधनमात्र एकतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्थामा रहेको सडकमा थप मर्मतकार्य बाँकी रहेको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।

“प्रारम्भिक चरणको मर्मत भए पनि पूर्ण रूपमा पहिरो पन्छाउने, भासिएको र कटान गरेको ठाउँमा फिलिङ, लेवल मिलाउने, क्रसिङ बनाउन बाँकी छ”, उहाँले भन्नुभयो, “अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त र दुर्घटनाको जोखिम हुने भएकाले आइतबारसम्म मर्मतकार्यलाई पूर्णता दिने र आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाएका छौँ ।”

केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता, खहरेखोला क्षेत्रमा कालीगण्डकीले कटान र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ ।

हालै कालोपत्र सकिएको र पहिरो प्रभावित क्षेत्रमा ढलानको काम भइरहेको म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये २० किलोमिटर बढी स्थानमा सडक क्षतविक्षत भएको सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।

“चीनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरलानाकाका कारणले पनि सरकारले उच्च प्राथमिकतामा राखेर अवरुद्ध भएको दुई साताभित्रै यातायात सञ्चालनको तयारी गरेको भए पनि पहिलेकै अवस्थामा फर्काउन धेरै लगानी र पूर्वाधार आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “रु ९० करोडबराबरको क्षति भएको यो सडकलाई नयाँ डिजाइनमा पुनर्निर्माण गर्न थप रु तीन अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ ।”

बेनी–जोमसोम–कोरला सडक योजनाका संस्थापक प्रमुखसमेत रहनुभएका सुवेदीका अनुसार योजना सुरु भएयताकै ठूलो क्षति यसपालिको बाढीले गरेको छ । अत्यधिक वर्षाका साथै सहायक सडक भत्किएका, जलविद्युत् आयोजनाले नदी किनारमा फालेका मकिङ, कमजोर भूगोल, नयाँ पहिरो सृजना हुनु, सहायक नदीमा बाढीको सतह बढ्नुलगायतका कारण कालीगण्डकीमा बाढीको आयतन बढेर अकल्पनीय क्षति गरेको सुवेदीको भनाइ छ ।

कोरलानाकामा जानेआउने मालवाहक, मुस्ताङको स्याउ र आलु निकासी, पर्यटकीय याम र दसैँतिहारलगायत ठूला चाडपर्वमा बढ्ने आन्तरिक यातायात साधनको चापले सृजना हुने चुनौतीको व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

भन्सार जाँचपास गरेर कोरलानाकाबाट दसैँलाई लक्षित गरेर आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर गन्तव्यमा पुग्ने प्रतीक्षामा मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँमा रोकिएका छन् ।

“अत्यावश्यक, ढुवानी, आन्तरिक यातायात र पर्यटक सवारीसाधनलाई प्राथमिकता निर्धारण गरेर ट्राफिक व्यवस्थापन गर्न जनप्रतिनिधि, प्रदेशस्तरका सुरक्षा अधिकारीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी गैरेले भन्नुभयो, “सवारीसाधनको जाम हुन नदिनका लागि साँघुरा र जोखिमयुक्त ठाउँमा सुरक्षाकर्मी खटाउने विषयमा पनि छलफल भएको छ ।”

अत्यावश्यक सेवा, आन्तरिक यातायात, कन्टेनर, स्याउ, आलु बजार पठाउने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने भएकाले सडकको अवस्था सहज नहुँदासम्मको लागि घुमघामका लागि आउनेलाई केही दिन योजना पछि सार्न प्रजिअ गैरेले अनुरोध गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिससका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रजिअ गैरे, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख सुवेदी, नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दीपेन्द्र घर्ती क्षेत्री र सशस्त्र प्रहरी बल नं ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाह, म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीसहित जिल्ला तहका सुरक्षा अधिकारीले सडकमा यातायात सञ्चालनको तयारीका लागि अनुगमन गर्नुभएको थियो ।

सरोकारवालाको सुझावअनुसार शुक्रबार बिहान म्याग्दी र मुस्ताङको जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालन व्यवस्थित बनाउन छलफल र कार्ययोजना तयार गरिने प्रजिअ गैरेले जानकारी दिनुभयो ।

  • नेपाली सेना
  • पर्वत
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • सन्दर्भः विश्व ‘अण्डा’ दिवस,
अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    सन्दर्भः विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

  • भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

  • Post Thumbnail

    आरन पेशालाई आयआर्जनको माध्यम बनाउँदै चक्रबहादुर

  • Post Thumbnail

    बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति, पुनर्निर्माणका लागि सिफारिस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सन्दर्भः विश्व ‘अण्डा’ दिवस,
अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    सन्दर्भः विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    Post Thumbnail

    विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution