
दमौली (तनहुँ), १८ असोजः तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको दमौली-भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणले गति लिएको छ । प्रसारण लाइन निर्माणको हालसम्म करिब ८२ प्रतिशत काम सम्पन्न भएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीले ३५ किलोमिटर लामो प्रसारण लाइनमा निर्माण गर्नुपर्ने ९४ टावरमध्ये ८३ वटाको जग निर्माण सम्पन्न भइसकेको जनाउँदै ८० वटा टावर खडा गरिसकिएको बताउनुभयो । चितवन र तनहुँ जिल्लाका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रुख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको उहाँले बताउनुभयो ।
हाल प्रसारण लाइनअन्तर्गत टावरको जग निर्माण, टावर खडा गर्ने, आवश्यक स्थानमा टावर संरक्षण गर्ने तथा तार तान्ने काम भइरहेको छ । चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिका क्षेत्रमा तार तान्ने काम जारी छ । हालसम्म करिब दुई किलोमिटर तार तानिसकिएको भण्डारीले बताउनुभयो ।
चरण-३ अन्तर्गत प्रसारण लाइन निर्माणको ठेक्का भारतको केइसी इन्टरनेशनलले पाएको छ । आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि यो प्रसारण लाइन निर्माण भइरहेको हो ।
आयोजना प्रमुख भण्डारीका अनुसार वन क्षेत्रमा प्रवेश तथा रुख कटानसम्बन्धी अनुमति प्राप्त भएपछि रोकिएका तथा प्रभावित काम अघि बढाउन सहज भएको छ । अहिले विभिन्न स्थानमा एकैसाथ टावर निर्माण, टावर खडा गर्ने र तार तान्ने कामलाई अघि बढाइएको छ ।
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणसँगै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आवश्यक प्रसारण पूर्वाधार निर्माणलाई पनि आयोजनाले प्राथमिकतामा राखेको छ । दमौली-भरतपुर प्रसारण लाइन त्यसैको महत्त्वपूर्ण हिस्सा हो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |