
काठमाडौँ, १६ असोज : जर्मन नागरिक जोसेफ पिटर रिन्डफ्लाइसको निजी सङ्ग्रहमा रहेका १३औँ देखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी महत्त्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपाललाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा उक्त आठ सयभन्दा बढी दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा मनिक बज्राचार्य र राजन खतिवडाले संयुक्त रूपमा परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गर्नुभएको हो ।
प्राध्यापक माइकल्स रिन्डफ्लाइसका छोरा वाल्टर रिन्डफ्लाइसका साथी हुनुहुन्छ । छोरा वाल्टरले बुबाका दस्तावेजहरू नेपाल फिर्ता गराउनका लागि प्राध्यापक माइकल्सलाई हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि प्राध्यापक माइकल्सले हाइडेलबर्ग विश्वविद्यालयमार्फत नेपाललाई हस्तान्तरण गर्नुभएको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा ती ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको हो । जर्मनीका लागि नेपाली राजदूतावास, हाइडेलबर्ग विश्वविद्यालय, हाइडेलबर्ग एकेडेमी अफ साइन्सेज एन्ड ह्युमानिटिज, सराफ फाउन्डेसन र राष्ट्रिय अभिलेखालयको सहकार्यमा ती दस्तावेज नेपाल फिर्ता ल्याइएको हो ।
परराष्ट्रमन्त्री खनालले ऐतिहासिक दस्तावेजको स्वदेश फिर्तीले नेपालको सांस्कृतिक अखण्डता र सभ्यतागत सम्पदामाथिको सार्वभौम स्वामित्वलाई पुनःस्थापित गरेको बताउनुभयो ।
“हाम्रा कला, साहित्य, परम्परा र पवित्र ग्रन्थहरू भौतिक अवशेष मात्र होइनन्, ती हाम्रो सभ्यताका जीवन्त आत्मा हुन् । तिनले शताब्दीयौँदेखिको दार्शनिक चिन्तन, राजनीतिक शासन, कानुनी ज्ञान र आध्यात्मिक जीवनलाई बोकेका छन्”, उहाँले भन्नुभयो, “प्रत्येक ऐतिहासिक दस्तावेजको आफ्नै भूमिमा फिर्ती सांस्कृतिक अधिकारको पुनःस्थापना र हाम्रो सभ्यतागत सम्पदामाथिको सार्वभौम स्वामित्वको फेरि प्रतिबद्धता हो ।”
मन्त्री खनालले स्वर्गीय जोसेफ पिटर रिन्डफ्लाइसले आफ्नो निजी सङ्ग्रहमा रहेका आठ सयभन्दा बढी महत्त्वपूर्ण नेपाली दस्तावेज स्वदेश फिर्ता गर्ने इच्छा व्यक्त गर्नुभएको स्मरण गर्दै उहाँको सांस्कृतिक सम्पदाप्रतिको सम्मान र दूरदर्शी सोचको प्रशंसा गर्नुभयो ।
उहाँले रिन्डफ्लाइसका छोरा वाल्टर रिन्डफ्लाइसले आफ्ना पिताको इच्छालाई सम्मान गर्दै ती दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संस्थानका प्राध्यापक डा एक्सेल माइकल्सलाई हस्तान्तरण गर्नुभएकामा आभार व्यक्त गर्नुभयो।
“यो असाधारण अभिलेखमा प्राचीन ताडपत्र, राजकीय सनद, अदालतका आदेश, संस्कृतका ग्रन्थ र ऐतिहासिक यात्रा विवरणहरू समेटिएका छन् । यी दस्तावेज नेपालको राजनीतिक, कानुनी र बौद्धिक विकासक्रम बुझ्नका लागि अपरिहार्य स्रोत हुन्,” उहाँले भन्नुभयो ।
मन्त्री खनालले दस्तावेजहरूको पहिचान, अभिलेखीकरण र स्वदेश फिर्तीमा योगदान पुर्याउने प्राध्यापक डा एक्सेल माइकल्स र उहाँको अनुसन्धान टोलीको प्रशंसा गर्दै उनीहरूको शैक्षिक इमानदारी, अनुसन्धान र निरन्तर प्रयासले ऐतिहासिक दस्तावेज फिर्ती सम्भव भएको बताउनुभयो ।
सन् १७८० र १९९० को दशकमा नेपालबाट सङ्कलन गरिएको यस सङ्ग्रहमा ताडपत्र, रुक्का, लालमोहरलगायत आठ सयभन्दा बढी राजकीय लिखतहरू समावेश छन् । यो सङ्ग्रहलाई हाइडेलबर्ग विश्वविद्यालयको पुस्तकालय र हाइडेलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा–प्रतिष्ठानद्वारा संरक्षण र सूचीकरण गरी नेपाल सरकारको सहकार्यमा नेपाल फिर्ता गरिएको हो ।
यस सङ्गहमा रहेका ताडपत्रहरूमा केही नेपालको पुरानामध्येकै छन् । सङ्ग्रहको सूचीअनुसार ताडपत्र, लालमोहरसहित ४६५ मल्लकालीन ताडपत्र तथा माटाको छापसहित ३१२ शाह र राणाकालीन कानुनी सनद तथा राजकीय कागजात, १८ राणा प्रधानमन्त्री कार्यालयका हस्तलिखित ग्रन्थ तथा यात्रा डायरी र ११ विविध विषयका हस्तलिखित ग्रन्थहरू छन् ।
नेपाल र जर्मनी सन् १९७० को युनेस्को सांस्कृतिक सम्पत्तिको अवैध आयात, निर्यात तथा स्वामित्व हस्तान्तरण रोकथामसम्बन्धी महासन्धिका पक्ष राष्ट्र भएको उल्लेख गर्दै उहाँले दस्तावेज हस्तान्तरणले उक्त अन्तरराष्ट्रिय महासन्धिको भावना र मर्मप्रतिको साझा प्रतिबद्धता उजागर गरेको बताउनुभयो ।
“आजको हस्तान्तरण हाम्रो साझा अन्तरराष्ट्रिय प्रतिबद्धताको महत्त्वपूर्ण उदाहरण हो । यी दस्तावेजको सहज फिर्तीका लागि जर्मन सरकार, काठमाडौँस्थित जर्मन दूतावास र हाइडेलबर्ग विश्वविद्यालयले गरेको सक्रिय सहयोगको हामी उच्च कदर गर्दछौँ”, उहाँले भन्नुभयो ।
मन्त्री खनालले सन् २०२६ अप्रिल २४ मा प्राध्यापक डा माइकल्सले बर्लिनस्थित नेपाली दूतावासलाई ती दस्तावेज औपचारिक रूपमा हस्तान्तरण गरेको स्मरण गर्दै यस प्रक्रियामा नेपाली दूतावास, परराष्ट्र मन्त्रालय र राष्ट्रिय अभिलेखालयबीच भएको समन्वयको प्रशंसा गर्नुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |