
म्याग्दी, १२ असोजः पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर पुन र वडा नम्बर १ दोवाका ४१ वर्षीय ललित पुन आइतबार करिब १२ घण्टा पहिरोको बीच भागमा फस्नुभयो ।
चार दिनदेखिको लगातारको झरिपछि आइतबार बिहानैदेखि प्रेमबहादुरको घर वरपर निरन्तर पहिरो खसेर घेरिएको थियो । दिउँसो ३ः०० बजेपछि नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरुले उद्धार गरेर बेनी ल्याएपछि पुनद्वयले नयाँ जीवन पाएको अनुभव सुनाउनुभयो ।
“मेरो घर डाँडामा छ, दुईतिर खोल्सा छन्, दायाँ र बायाँ पहिरो खसिरह्यो, तल र माथि भिर भएकाले अन्य जाने बाटो भएन, अब यत्तिकै त होला नि हाम्रो जीवन भन्ने त्रासमा बसिरह्याँै,” प्रेमले भन्नुभयो, “फोन गरे पनि कतै लाग्दैनथ्यो, छट्पटीमै १२ घण्टा बित्यो, दिउँसो पानी बन्द भयो, आकाश पनि खुल्यो र त्यसपछि हेलिकप्टर आउन थालेपछि बाँच्ने आश पलायो, उद्धार भएपछि नयाँ जीवन पाएको महसुस गरेका छाँै ।”
घरमा एक्लै बस्ने प्रेमबहादुर कहाँ दोवाका ललित खोपारा लेकको भेडागोठबाट घर फर्कने क्रममा बास बस्नुभएको थियो । “गोठबाट चार महिनापछि घर जान फर्कंदै थिए, रात परेर पाहुना बसेकै ठाउँ पहिरोले घेरिएपछि घरपरिवार र आफन्त भेट्न नपाइने भयो भनेर चिन्तित बनेको थिएँ,” ललितले भन्नुभयो, “दिनभरि छट्पटीमै बित्यो तर दिउँसो उद्धार गरेर बेनी ल्याएपछि कतिबेला परिवारलाई भेटौँ भन्ने लागेको छ तर घरमा फोन पनि लाग्दैन, जाने बाटो पनि नभएर बेनीमै बसेको छु ।”
हेलिकप्टरबाट उद्धार गरेर बेनी ल्याइएका पुनद्वयले प्रशासन कार्यालयमा आएर जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायलाई धन्यवाद दिनुभयो । मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा काम गर्ने प्रेमले नेपाली सेनाको घारखोलामा रहेको पोष्टका कमाण्डरलाई फोन गरेर जानकारी गराएका कारण उद्धारमा सजिलो भएको बताउनुभयो ।
पछिल्लो झरि र आइतबारको पहिरोले अन्नपूूर्ण गाउँपालिका–५ मा पर्ने गिवाङ, पाउद्वार, घिरवाङ, धोस्केखोर, किन्दुलाई प्राकृतिक नाकाबन्दी गरेको छ । पहिरोले सडक र पैदलमार्ग बगाएपछि कोही गोठ त कोही गाउँमै थुुनिएका थिए । आइतबार पाउद्वार र गिवाङबाट ७८ जनालाई हेलिकप्टरबाट उद्धार गरेर शिख, घार र बेनीमा ल्याएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
सोमबार पनि पहिरोमा फसेकाहरुको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । अन्नपूूर्ण गाउँपालिका–७ औलाका डिलप्रसाद फगामीले बस्ती माथिबाट निरन्तर पहिरो खसिरहेकाले स्थानीयवासी घर छाडेर स्वास्थ्य चौकीको भवन र पाखाका गोठमा बसेका बताउनुभयो । करिब एक सय घरपरिवार रहेको औलाका बासिन्दा उद्धारको प्रतीक्षामा रहेका उहाँले बताउनुभयो ।
जिल्लाका पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या छ जना पुगेको छ भने तीन जना बेपत्ता भएका छन् । अन्नपूूर्ण गाउँपालिकामा चार र मालिका गाउँपालिकामा दुई जनाको शव भेटिएको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनी नगरपालिकामा एक र अन्नपूर्ण गाउँपालिकामा दुई जना बेपत्ता भएका बताउनुभयो ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्र भएका, विद्युत्, सञ्चार, सडक अवरुद्ध भएकाले घटनास्थलबाट जानकारी प्राप्त हुन, सुरक्षाकर्मी पुग्न, उद्धार, बेपत्ताको खोजीमा ढिलाइ भएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताउनुभयो ।
चार दिनको लगातारको झरीका कारण बाढी पहिरोले म्याग्दीमा विद्युत्, सडक र सञ्चार सुविधा अवरुद्ध बनेको छ । बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक अवरुद्ध भएका छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |