
काठमाडौँ, ८ भदौ :
परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जानुहुने भएको छ ।
असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सर्बियाको राजधानी बेलग्रेडमा यही भदौ १५ र १६ गते उच्चस्तरीय स्मरणसभाको आयोजना हुँदैछ ।
सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो । ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा विश्वका नेताहरू, प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिको सहभागिता रहनेछ ।
नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अङ्गीकार गर्दै आएको छ । असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई संविधानले प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ ।
नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठक तथा अन्य बैठकमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ । उहाँ भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |