धादिङबेशी,१४ चैत्र । नेकपा एमाले जिल्ला कमिटी धादिङले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।
शनिबार जारी प्रेस विज्ञप्तिमा एमाले धादिङले चैत १४ गते बिहान गरिएको उक्त पक्राउलाई “पूर्वाग्रही, प्रतिशोधपूर्ण र गैरकानुनी” कदम भन्दै लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको उल्लेख गरेको छ। पार्टीले यस घटनाको निष्पक्ष छानबिनको आवश्यकता औंल्याउँदै सरकारले तत्कालै पक्राउ परेका नेताहरूलाई रिहा गर्नुपर्ने माग गरेको छ।
विज्ञप्तिमा २०८२ फागुन २३ र २४ गते भएका घटनाको छानबिनका लागि तत्कालीन सरकारले गठन गरेको आयोगप्रति पनि प्रश्न उठाइएको छ। उक्त आयोगको प्रतिवेदन पूर्वाग्रही तथा अनुसन्धानको स्थापित सिद्धान्तविपरीत रहेको दाबी गर्दै एमालेले निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेको छ।
यस्तै, पार्टीले वर्तमान परिस्थितिमा सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई संयमित, शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले प्रतिवाद गर्न आह्वान गरेको छ। लोकतन्त्र, राष्ट्रियता र जनअधिकारको रक्षा आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै एमाले धादिङले आवश्यक परे जिल्लामा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
विज्ञप्तिमा नेताहरूलाई तत्काल रिहा नगरिए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नेपाल सरकार र सम्बन्धित निकायले लिनुपर्ने उल्लेख गरिएको छ।
केन्द्रिय बिरोध कार्यक्रम अनुसार आईतबार बिहान ११ बजे पार्टी कार्यालयमा जम्मा भई जिल्ला प्रशासन कार्यालयमा बिरोध पत्र बुझाउने कार्यक्रम तय भएको नेकपा एमाले धादिङका जिल्ला अध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) ले जानकारी दिनुभयो ।



प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |