तुलसीपुर (दाङ), २७ पुस
थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो ।
“यो हाम्रो संस्कार हो”, थारू अगुवा आशाराम चौधरीले भन्नुभयो, “रातभर नाचगान गर्ने र बिहान त्यही ढुम्री गीत गाउँदै नदी तथा खोलामा गएर नुहाउने गरिन्थ्यो । नुहाइसकेपछि महतवाले सबैलाई टीका लगाइदिने र पुनः महतवाकै घरमा पुग्ने चलन थियो ।”
महतवाका घरमा पुगेपछि सबै आआफ्नो घरमा जाने चलन भए पनि पछिल्लो समय यो चलन हराउँदै गएको थारू अगुवा चौधरीले बताउनुभयो । “पुर्खाहरूले यस्तो चलन अपनाउनु हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले नयाँ पुस्ताले यो कुरा चटक्कै छोड्नुभएको छ ।”
यस्तो चलन हराउँदै गएको २०–२५ वर्ष भइसकेको तुलसीपुर–१८ का फुलाराम चौधरीले बताउनुभयो । “पहिलेपहिले उहाँहरूले यसरी ढुम्री नाच नाच्नुहुन्थ्यो । तर अहिले नाच्न छोडियो”, उहाँले भन्नुभयो ।
नयाँ पुस्तालाई यो नाचका बारेमा जानकारी नहुँदा पनि समस्या हुने गरेको नमूना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले बताउनुभयो । उहाँका अनुसार यो नाचले थारू समुदायको एकताको भावना जागृत गर्ने भन्दै यसलाई संरक्षण गर्न लागिएको छ ।
“हाम्रो संस्कार, संस्कृति नभई थारू समुदायलाई एक भएको सन्देश दिने कुरा पनि हो, तर यो लोप हुने अवस्थामा छ, यसलाई संरक्षण गर्नुपर्छ, भनेर हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो । यो नाच लोप भएपछि प्रत्येक वर्ष कार्यक्रम गरी नाच संरक्षणमा लागेको उहाँले बताउनुभयो । यसले नयाँ पुस्तामा नाचका बारेमा जानकारी हुने उहाँको भनाइ छ ।



प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |