धौलागिरि (म्याग्दी), ९ पुस
म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।
उमेरले ७२ वर्ष पुग्नुभएकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको रु १५ लाखसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन भइरहेको छ । यस वर्ष उहाँको बारीमा रु १० लाखभन्दा बढीको सुन्तला फलेको छ । कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षकोे कमाइबाट घर ठडिन्छ । सुन्तलाबाट पर्याप्त आम्दानी हुन थालेपछि उहाँको पहिलो रोजाइमा घर निर्माण परेको हो । यसअघि उहाँको कच्ची घर जिर्ण अवस्थामा रहेको थियो ।
श्रीमान्को निधनपछि जोत्ने हलगोरू र काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तलाखेती गर्नुभएकी कर्णकुमारीको बगैचा अहिले पहेँलपुर छ । मकै, कोदो, गहुँजस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० वर्ष अगाडि सुन्तलाका केही थान बिरूवा ल्याएर खेती थाल्नुभएकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर रु एक हजार ६०० कमाउनुभएको थियो । सुन्तलाबाट रु एक सय, रु एक हजार हँुदै रु १५ लाखसम्म बुझ्नुभएको छ । अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ ।
कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ । “आफ्ना सन्ततिलाई जस्तै गरी सुन्तलाको बोटलाई स्याहार गर्छु, मलाई खुसी दिने यही सुन्तलाका बोट बनेका छन्, बूढेसकालमा पनि मेरो दैनिकी सुन्तलासँगै चलेको छ”, उहाँले भन्नुभयो । गत वर्षको तुलनामा कम फले पनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारी बताउनुहुन्छ ।
रोजगारीको सिलसिलामा अफगानिस्तान पुग्नुभएका श्रीमान्को २०६७ सालमा आतङ्ककारीको आक्रमणबाट निधन भएपछि घर व्यवहार धान्न हम्मेहम्मे परेको कर्णकुमारीले बताउनुभयो । सुन्तलाले दैनिकी सहज बनाएको उहाँको भनाइ छ । सुन्तलाको कमाइले छोरीहरूको शिक्षादीक्षा, विवाहलगायतका घरायसी खर्चसँगै बचतसमेत गरेको कर्णकुमारीले बताउनुभयो ।
“आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ, सुन्तलाले आर्थिक रुपमा बलियो बनाएको छ”, कर्णकुमारीले भन्नुभयो ।
सुन्तलाखेती बूढेसकालको सहारा बनेको छ । घरखर्च चलाउन श्रीमान्, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारीखेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ । उहाँ मरेक गाउँमा सबैभन्दा धेरै सुन्तला फलाउने कृषकको रुपमा चिनिनुहुन्छ । सुन्तला खरिदका लागि आएका व्यापारीले समेत कर्णकुमारीको बगैँचालाई पहिलो रोजाइमा पार्ने गर्दछन् ।



प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |