भोजपुर, २७ भदौ
यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ ।
व्यापारीहरुले आलु खरिद गर्न गाडी नै लिएर किसानका घरसम्म पुग्ने गरेका छन् । गाउँघरमा सडकको पहुँच विस्तारसँगै अर्ग्यानिक आलु किसानको भरपर्दो आम्दानीको स्रोत बनेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय कृषक शिवकुमार विष्टले बताउनुभयो । “विगतमा यहाँ उत्पादन हुने अर्ग्यानिक आलु अन्य सहरमा पठाउन समस्या थियो, आलुसँग धान साट्नुपर्ने अवस्था थियो, तर अहिले सडकको पहुँचसँगै घरबाटै आलु बिक्री हुन थालेको छ ।”
यस वर्ष गाउँघरबाट प्रतिकेजी रु ४० देखि ४५ सम्म बिक्री हुँदै आएको किसानहरुको भनाइ छ । लेकाली भेगमा उत्पादन भएको अर्ग्यानिक आलुको बजारमा राम्रो माग रहेको स्थानीय कृषक रामबहादुर विष्टले बताउनुभयो ।
“मझौले र चोलन्ती गाउँमा अर्ग्यानिक आलु उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “गाउँका सबैले आलुखेती गरिरहेका छौँ । उत्पादन भएको आलु घरबाट बिक्री हुन्छ । हाम्रो क्षेत्रको आलु अर्गानिक रहेकाले बजारमा राम्रो माग छ ।”
मझौले गाउँका एक किसानले ७०० केजीदेखि सात हजार केजीसम्म आलु उत्पादन गर्दै आएका छन् । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुखेती गर्दै आएको उहाँको भनाइ छ । यो क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पङ्खदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार भोजपुर जिल्लामा हिउँदे र बर्खे गरी गत वर्ष ५१ हजार ९०० मेट्रिक टन आलु उत्पादन भएको थियो । यहाँ तीन हजार २७२ हेक्टर क्षेत्रमा आलुखेती हुने गरेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |