काठमाडौँ, १८ वैशाख ।
नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छभने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा बुझाउन निर्देशन दिएको हो ।
सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ । पार्टीले मातहतका सबै निकाय, क्षेत्र तथा तहबाट महाधिवेशन प्रतिनिधि छनोट गरी निर्धारित शुल्कसहित प्रतिनिधि छनोटको नामावली समयमा केन्द्रमा बुझाउनुपर्ने छ ।
पार्टीअन्तर्गत रहेका सबै कमिटीले असार १ गते प्रतिनिधि छनोट गर्ने कार्यतालिका रहेको पार्टी पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणीकरण गर्ने छ ।
सदस्यता प्रमाणित गरेपछि त्यसको नामावली विवरण यही वैशाख ३० गतेसम्ममा सम्बन्धित कमिटीमा पठाइने छ । आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दसौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी यही वैशाख २८ र २९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको छ । त्यसले प्रतिनिधिको नामवलीलगायत अन्य आवश्यक कार्यसूची अनुमोदन गर्ने छ ।
आगामी जेठ ९ गतेसम्ममा सबै कमिटीमा महाधिवेशनका लागि प्रस्तुत गरिने मस्यौदा दस्तावेज पठाइने छ । सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई आगामी जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |