
काठमाडौँ, १२ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनुभयो।
निःशस्त्रीककरण मामिला सम्बन्धी संयुक्त राष्ट्र सङ्घको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउनुभयो । उहाँले विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकामा जोड दिनुभयो ।
“नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकका लागि उदाहरण बनेको छ”, उहाँले भन्नुभयो, “अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायत घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ ।”
प्रधानमन्त्री दाहालले बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराउनुभयो ।
उहाँले संयुक्त राष्ट्र सङ्घको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाबारे समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र सङ्घका प्रयासमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।
“विश्व शान्ति तथा निःशस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र सङ्घले खेलेको भूमिका प्रशंसनीय छ”, उहाँले भन्नुभयो, “हामी संयुक्त राष्ट्र सङ्घका हरेक कदममा साथ छौँ र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
छलफलमा इजुमी नाकामित्सुले निःशस्त्रीकरण मामिलाको दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरिएको र नेपाल दक्षिण एसियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको बताउनुभयो ।
“परमाणु हतियारले सुसज्जित छिमेकीका बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “नेपालले विगतमा झैँ क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।”
सो अवसरमा इजुमीले शान्ति मिसनमा दोस्रो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभयो । छलफलमा संयुक्त राष्ट्र सङ्घको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारी लगायतको उपस्थिति थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |