Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विचार : विधागत पत्रकारिता विकासको जग

३०० पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १५, सोमबार (१ साल अघि)
Post Thumbnail

काठमाडौँ, १५ असोज : समाजका घटना र जानकारीको तथ्यपूर्ण प्रस्तुतिका आधारमा समाजको ऐनाका रुपमा पत्रकारिताले काम गर्छ । यसका लागि लुकेका वा लुकाउन खोजिएका सार्वजनिक महत्वका सूचनाहरू प्रस्तुत गर्छ । त्यस्ता सूचना तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय हुनु पूर्वशर्त हो र त्यस्ता सूचना मात्र सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो ।

समाजमा त्यस्ता सूचनाको शक्तिलाई स्वीकार र सहन नगर्ने संस्कृति पनि नभएको होइन । त्यही संस्कृतिको परिणामका रूपमा कतिपय अवस्थामा पत्रकार तथा सञ्चारमाध्यममाथि भौतिक तथा मानसिक आक्रमण हुने गरेको पाइन्छ । एक महिनाभित्रै करिव एक दर्जनसम्म आक्रमणका घटना त्यस्तै अपसंस्कृतिका परिचायक हुन् । पत्रकारिताले मानव जीवन र जगतका विषयवस्तुलाई समाचार वा विचारका रुपमा समेट्छ, समेट्नुपर्छ । मानवीय चासोभन्दा बाहिर मिडिया छैन, जाँदैन । तर, मानिसको चासोको सीमा असीमित छ । चराचर जगतमा मात्र पनि हैन; समग्र पृथ्वी, ब्रम्हाण्ड र अनन्तसम्मै मानवीय चासो छ । जिज्ञासु मानिसको चासोका दायरा कसैले तोक्न पनि सक्दैन, सीमित परिधिभित्र कसैले रोक्न पनि सक्दैन ।

मानवीय उत्सुकताको जगमा टिकेको ज्ञानको खोजीसँगै पत्रकारिताको परिधि फैलँदो छ । त्यही जिज्ञासालाई समेट्ने नाममा तथ्यमा नपुगी वा तथ्यलाई तोडमोड गरी वा अर्ध–तथ्य प्रस्तुत गरी सनसनीपूर्ण सामग्री बनाउने र पस्किने काम पनि हुने गरेका छन् । सम्बेदनशील हुनुपर्ने माध्यम नै सनसनीपूर्ण भइदिएपछि परिणाम सधैँ सुखद हुन पनि सक्दैन । त्यस्ता कारणले पनि असहिष्णु मनहरूलाई थप उकासिदिन्छ । अनि, मिडियाकर्मी वा मिडियामाथि भौतिक आक्रमणसमेत भइदिन्छ । जबकि, नितान्त गलत सूचना नै सम्प्रेषण भए पनि त्यसको कानूनी उपचार खोज्ने विधि र प्रक्रिया छ । मानवीय अनन्त चासो र जिज्ञासालाई शान्त पार्न एउटा पत्रकारले कतिसम्म सक्ने भन्ने कुराको कुनै ठोस जवाफ छैन । जीवन, जगत र त्यसभन्दा पनि टाढाका सबै विषयलाई एउटै पत्रकारले बुझ्न र बुझाउन सक्दा पनि सक्दैन । तसर्थ विभिन्न विधामा केन्द्रित भएर अध्ययन गर्ने र त्यसमा दक्षता हासिल गरेर समाचार संकलन गर्ने पत्रकारिताको अभ्यासको विकास भएको हो । जिज्ञासुका चाहनाहरूलाई सकेसम्म समेट्नका लागि नै मिडियाले पत्रकारहरूलाई विभिन्न विधाको कार्यक्षेत्र तोकेर समाचार संकलन, प्रशोधन र सम्प्रेषण गर्ने गरेका हुन् ।

यही अभ्यास नै विधागत पत्रकारिता हो । त्यस्ता विधामा काम गर्नका लागि थुप्रै पत्रकार कस्सिएर लागेका पनि छन् । भलै तीमध्ये कतिपयको कार्यशैली, कार्यदक्षता, आचरण र अभ्यासका मामिलामा अनेक प्रश्न उठेका छन् । ती प्रश्नको उत्तर पनि अन्ततः तिनै पत्रकारहरूसँग नै छ । पत्रकारिताको थालनीको युगमा समग्र विषयमा एउटै पत्रकारले कलम चलाउँथे । समयको विकाससँगै विधागत पत्रकारिताको अवधारणा पनि विकसित हुँदै आयो । पत्रकारिताको लामो इतिहास भएका मुलुकमा विधागत रिपोर्टिङको चलन पनि विकसित नै छ । बिबिसी, सिएनएनजस्ता मिडियामा वातावरण रिपोर्टिङ गर्ने वातावरणविद्, स्वास्थ्य÷जनस्वास्थ्यको लागि चिकित्सक, जलवायु परिवर्तनको रिपोर्टिङ गर्ने विशेषज्ञ आदि देखिएका छन् । खेलाडीहरू खेल पत्रकार भएको उदाहरण त नेपालमै पनि छ । विधागत रिपोर्टिङ वास्तविक अर्थमा आधुनिक पत्रकारिताको शुरुवात हो । सिङ्गो पत्रकारिताकै दक्षता अभिवृद्धि गर्ने उद्देश्यले १९ औं शताब्दीको अन्त्यतिर संयुक्त राज्य अमेरिकामा बीट रिपोर्टिङ् थालनी भएको पाइन्छ ।

मेलानी म्यागिन र पिटर मौररले ‘अक्सफोर्ड रिसर्च इन्साइक्लोपेडिया अफ कम्युनिकेशन’मा उल्लेख गरेअनुसार विधागत पत्रकारिता र समाचार संकलन पत्रकारिताको व्यावसायिकता र तर्कसंगतताका साथै मिडियालाई सामूहिक उत्पादनमा रूपान्तरण गर्ने विषयसँग सम्बन्धित छ । अहिलको चलनचल्तीको भाषामा मूलप्रवाह भनिने मिसमास पत्रकारिताको हालिमुहाली देखिए पनि नेपालमा चाहिँ पत्रकारिताको थालनी नै विधागत पत्रकारिताबाट भएको हो । करीब तीन दशकअघि २०५१ सालमा छापा पत्रकारिता सिकाउनकै लागि ‘पत्रकारिता हाते किताब’ को आवश्यकता महसूस गरेको नेपाली पत्रकारिता आज विधागत अभ्यासमा अघि बढिरहेको छ । जबकि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको करीब १३० वर्षपछि रोपिएको पत्रकारिताको बीउ नै विधागत थियो, त्यो साहित्यिक विधा थियो । अहिलेभन्दा ठीक २५५ वर्षअघि पृथ्वीनारायण शाहले कान्तिपुर राज्यमाथि विजय हासिल गरेको १८२५ असोज १३ गतेदेखि १९५५ साल साउनमा ‘सुधासागर’ प्रकाशित हुँदासम्मको अवधि गणनाका आधारमा १३० वर्ष भनिएको हो । १९४३ सालमा वनारसबाट नेपाली भाषाको पहिलो पत्रिका ‘गोरखा भारत जीवन’ निकालेको सात वर्षपछि मोतिराम भट्ट नै नेपाल फर्किएर पं. कृष्णदेव पाण्डेसँग मिली प्रेस स्थापना गरेका थिए । काठमाडौं, ठहिटीको त्यही पाशुपत प्रेसमा ‘सुधासागर’ साहित्यिक मासिक छापेर १९५५ साउनबाट नेपाली पत्रकारिताको शुभारम्भ भएको थियो । रोचक पक्ष त के भने १९०८ मा जङ्गबहादुर राणाले हाते प्रेस (गिद्धे प्रेस) भित्र्याएको ४७ वर्षपछि नेपालबाट पत्रिका प्रकाशन शुरु भयो । तर, मोतीरामले स्थापना गरेको प्रेसमै १९५८ साल जेठ ३ गते पहिलो समाचारपत्रको रुपमा ‘गोर्खापत्र’ साप्ताहिक छापियो ।

यो हिसाबले अहिले सरकारी माध्यम भए पनि गोरखापत्र जनस्तरको टेकोपुँडोमा निस्केको देखिन्छ । गोरखापत्रको जन्म नेपाली साहित्यिक पत्रकारिताका प्रणेताहरूले तयार पारेको प्राविधिक पूर्वाधारमा भएको गौरव पनि विधागत पत्रकारिताले हासिल गरेको छ । पत्रकारिताकै वीजारोपण गर्ने व्यक्तिको हैसियतले मोतिराम भट्ट ‘नेपाली पत्रकारिताका आदिपुरुष वा संस्थापक’ नै हुन् । भलै उनलाई त्यसरूपमा खुला हृदयले सम्झिने र सम्मान गर्ने परम्पराको विकास हुनसकेको छैन । उनलाई ‘युवाकवि’मा मात्र सीमित गरिएको छ । नेपाली पत्रकारिता जगतको यो कञ्जुस्याइँको कारण अहिलेसम्म सायद कसैले खोजेको पनि छैन । विधागत पत्रकारिताको दृष्टिले हेर्दा राजनीतिक दृष्टिकोणसहितको निजी क्षेत्रको पहिलो समाचारपत्रको इतिहास कायम गर्दै राणा शासनको अन्त्य हुनुभन्दा तीन दिनअघि हृदयचन्द्रसिंह प्रधानको सम्पादकत्वमा निस्केको ‘जागरण’ साप्ताहिक राजनीति–पत्रकारिताको कोसेढुङ्गो हो ।

वास्तविक पत्रकारिताको विकास नै २००७ सालको राजनैतिक परिवर्तनपछि शुरु भएको मानिए पनि र व्यावसायिक पत्रिकाको प्रारम्भ प्रजातान्त्रिक व्यवस्थाको थालनीसँगै भएको ठानिए पनि त्यसपछि पनि अन्यभन्दा साहित्यिक पत्रकारिता नै बढी फष्टाएको पाइन्छ । यसबाट विधागत पत्रकारितामा साहित्यकारहरूको सक्रियता झल्किन्छ । विसं २००८ देखि २०१३ भित्र व्यापकरूपमा प्रकाशित हुन थालेका विभिन्न खाले पत्रपत्रिकाले त्यतिखेर समग्र पत्रकारिताको लोकप्रियता बढ्दै गएको सङ्केत गर्छन् । तर, त्यस अवधिमा समेत पत्रकारितामा साहित्यिक व्यक्तित्वहरूको रचना र उनीहरूको बाहुल्य रहेको तथ्याङ्क पाइन्छ । यसले पनि नेपाली पत्रकारिताको इतिहासमा साहित्यिक पत्रकारिताको वर्चस्वलाई पुष्टि गर्छ । त्यो भनेको पनि विधागत पत्रकारिताको वर्चस्वकै कुरा हो । विधागत पत्रकारितामा फोटो पत्रकारिताको अस्तित्व र इतिहास पनि खास देखिन्छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते छापेको फोटो–ब्लकबाट नेपाली छापामाध्यममा फोटो देखिन थालेको हो । यसैगरी सम्वाददाता राख्ने इतिहास २००० सालमा राजधानी काठमाडौंमा नगर सम्वाददाता राख्ने चलनबाट शुरु भएको र व्यंग्यचित्र अर्थात कार्टूनको थालनी २०१२ सालपछि भएको ग्रीष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा उल्लेख गरेका छन् । यसैगरी नेपाली पत्रकारितामा महिलाको प्रवेश हस्तक्षेपकारी देखिन्छ । २००८ सालमा कुमारी कामाक्षी र साधना प्रधानद्वारा सम्पादित ‘महिला’ मासिक नेपाली पत्रकारितामा महिला प्रवेशको गौरवपूर्ण इतिहास कायम गर्दै उदाएको थियो । यो महिला बीटलाई नै पत्रकारिताको अभ्यास मान्नेहरूका लागि समेत गौरवको इतिहास हो । प्रजातन्त्रको आठ वर्षे अभ्यासपछिको २०१५ सालको निर्वाचित सरकारले दुई वर्षे उमेर पार गर्दा नगर्दै राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि राजनीतिक स्वतन्त्रतासँगै प्रेस स्वतन्त्रता पनि खोसियो । फलतः पञ्चायती व्यवस्थाभरि पत्रकारिताको विकास अवरुद्ध भयो । अवरोधकै बीच पनि आर्थिक, साहित्यिक, खेलकूद, ग्रामीण, विज्ञान, प्रशासन आदि पत्रकारिताका केही अभ्यास भएको देखिन्छ । नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रेस स्वतन्त्रता बहाल गरेपछि दैनिक पत्रिका प्रकाशनको लहर चल्यो । त्यसपछि नै विभिन्न विधामा समाचार लेख्ने प्रचलनको प्रयोग पनि व्यापक हुँदै गयो । तर, व्यावसायिक पत्रकारिताको शुरुवातीताका रिपोर्टिङको विधा व्यवस्थित नभइसकेको र राजनीतिक समाचारले बढी प्राथमिकता पाउने गरेको त्यस पुस्ताका पत्रकारहरूलाई हेक्का छ । त्यसताका एउटै बीटमा पत्रकारले लामो समय काम गर्न नपाउने र बेला–बेलामा कार्यक्षेत्र हेरफेर भइरहने हुनाले विशिष्टीकरणको अवसर कमजोर हुनपुग्थ्यो । विशिष्टीकरणको महत्वलाई नै ध्यानमा राखेर प्रेस काउन्सिलमा २०६३ सालमा ‘विधागत पत्रकारिता विकास उपसमिति’ गठन गरिएको पाइन्छ । त्यो उपसमितिले साहित्यिक तथा अन्य विधागत पत्रकारिताको विकास र सम्बद्र्धनका लागि नीति निर्माण गरी समस्या समाधानका लागि पहल गर्ने भनिएको थियो । यद्यपि त्यसपछिका काउन्सिलका गतिविधिहरूले के समस्या थिए र के हल गर्न के पहल ग¥यो भन्ने खासै देखिँदैन ।

आमसञ्चार विकासको प्रारम्भिक चरणमा छापामाध्यममा सीमित ‘प्रेस’ लाई जसले, जसरी, जुनसुकै मनसुवाले अनेकार्थी, पर्यायवाची शब्द प्रयोग गरे पनि अब छायामा पार्न सहज छैन । अर्थ विस्तारसहितको ‘प्रेस’ शब्द समग्र पत्रकारिता क्षेत्रलाई जनाउने संकेत शब्दको रुपमा स्थापित भइसकेको छ । रेडियो, टेलिभिजन हुँदै अनलाइन प्रविधिसम्म विस्तार हुँदा पत्रकारिता अब रोजगारीको एक माध्यमका रूपमा मात्र सीमित छैन । नयाँ–नयाँ घटनाको संकलन, चयन र सम्प्रेषणको समग्र प्रक्रियाका रुपमा रहेको यो पेशा समसामयिक ज्ञान आदानप्रदान गर्ने व्यवसाय भएको छ । यसको सम्बन्ध समाजका हरेक जीवनसँग गाँसिएको कुरा पत्रकारहरूले नै आत्मसात गरिरहेका छन् । पत्रकारहरूको यस्तो ठहर र रहरले नै पत्रकारितालाई सामाजिक क्रियाकलापका रूपमा समाजबारे समाचार र विचारको प्रसार गर्ने व्यवसायका रुपमा स्थापित गराएको छ । त्यसै क्रममा आमसञ्चारका साधनका लागि आवश्यक कच्चा पदार्थ संकलन, प्रशोधन, उत्पादन, भण्डारण र वितरणका काम यस पेशाअन्तर्गत हुँदै आएको सादृश्य छ । सिसाका टुक्रा जोडेर छापामा दल्नुपर्ने प्रविधिको ठाउँमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स– एआई) आइसकेको मात्र हैन, अब त समाचार कक्षमै हाबी भइसकेको छ । यो युगमा मानिसले रुचिअनुरुपका जानकारी पाउने अवस्था झनझन बलियो बन्दैछ । यो सुविधाले परम्परागत पत्रकारिता वा पत्रकारिताका साधनमै मात्र दुनियाँ निर्भर रहनुपर्ने अवस्थाको अन्त्य भएको छ । मिडियामा भूमण्डलीकरणको परिणामस्वरुप नै नेपाली उपभोक्ताले पनि आमसञ्चारका विश्वव्यापी उत्पादनसम्म पहुँच पाएका छन् ।

यस्तो समयमा एउटै मिडियाबाट सन्तोषजनक रूपमा सबै विषय समेट्न सम्भव छैन । साथसाथै कुनै विधा विशेषमा केन्द्रित रहेर पत्रकारिता गर्ने सञ्चारमाध्यमलाई पनि अरुभन्दा छिटो र पृथक स्वाद पस्कनुपर्ने बाध्यता बढ्दै गएको अनुभव पत्रकारहरूले गरिरहेका छन् । यो नेपालको मात्र नभएर दुनियाँकै पत्रकारिताको अनुभवको एक अंश हो । यसरी साहित्यको जगमा विधागत अभ्यास र त्यसको जगमा मिसमास पत्रकारिता गर्दै आजको युगमा आइपुगेको नेपाली पत्रकारिताको अबको दशा र दिशा सुधार्न भने पत्रकारहरूले मात्र गर्ने चिन्ता पर्याप्त छैन । बरु यसमा पूँजी लगानीकर्ता, विभिन्न प्रकारका श्रम लगानीकर्ता, सरकार, आमसञ्चार विज्ञलगायतका सबै सरोकारवालाहरूले सक्रिय चासो देखाउनु जरुरी छ । (लेखक पत्रकार हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

  • गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

  • आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँः अध्यक्ष दाहाल

    आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँः अध्यक्ष दाहाल

  • दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह

    दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ जेष्ठ २६ गते सोमबार

    २०८२ जेष्ठ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँः अध्यक्ष दाहाल

    आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँः अध्यक्ष दाहाल

    दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह

    दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution